काठमाडौं । बाढीका कारण प्रभावित नुवाकोट र रसुवास्थित त्रिशूली–३ ‘ए’ र ‘बी’ जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन मानिसहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितको टोलीले उद्धार कार्यलाई तीव्रता दिएको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याएको छ। सडकमार्गबाट आयोजनास्थलसम्म पुग्न कठिन भएपछि ती भारी उपकरणलाई खण्ड–खण्ड (डिसमेन्टल) गरी हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम भइरहेको छ।
गएराति आयोजनास्थलमा पुनः भीषण बाढी आए पनि उद्धार प्रयास भने निरन्तर जारी राखिएको छ। बाढीका कारण आयोजनास्थलको भौगोलिक अवस्था थप जोखिमपूर्ण बनेपछि सुरक्षित रूपमा माटो तथा लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास भइरहेको छ।
यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धार कार्यले प्रगति गरेको छ। हालसम्म सुरुङको फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।
नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’ काम अन्तिम चरणमा पुगेको छ। उक्त काम सम्पन्न भएपछि सुरुङभित्र प्रवेश गरी फसेका मानिसहरूको अवस्था पत्ता लगाउने तथा खोजी र उद्धार कार्य अघि बढाइनेछ।
दुवै आयोजनामा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन नेपाली सेनासहितका प्राविधिक तथा उद्धार टोली अहोरात्र खटिएका छन्। आवश्यक भारी उपकरण, जनशक्ति तथा अन्य स्रोतसाधन परिचालन गर्नुका साथै हेलिकप्टरमार्फत समेत उद्धार सामग्री र उपकरण घटनास्थल पुर्याउने काम भइरहेको छ।
प्रतिकूल मौसम, बाढी, पहिरो र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि सम्भावित जोखिमको मूल्यांकन गर्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सम्बन्धित निकायले जनाएको छ।