नुवाकोट, विदुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ।
उहाँ शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुग्नुभएको थियो। विदुरमा उहाँले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिनुभयो। सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिनुभयो।
उहाँले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो।
उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उहाँले दिनुभयो। सोही क्रममा उहाँले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताउनुभयो।
अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गर्नुभयो।
त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र र राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गर्नुभयो। यसलगत्तै उहाँले नेपाली सेनाको उद्धार केन्द्रमा आफन्तजन खोज्दै आउनुभएका पीडित परिवारजनलाई भेटेर उहाँहरूका समस्या सुन्नुभयो।
नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराउनुभयो। सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाबाट भएको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै परिवारजनलाई उद्धार हुने कुरामा नेपाली सेना र अन्य सुरक्षाकर्मीमाथी विश्वास गर्न आग्रह गर्नुभयो।
त्यसलगत्तै अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको ढुङ्गे बजार पुग्नुभयो। त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उहाँले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले गर्नुपर्ने कामबारे सुझाव लिनुभयो। तत्पश्चात् अर्थमन्त्री वाग्ले बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुग्नुभयो। त्यहाँ पुगेर उहाँले बाढीले पुर्याएको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीयलाई भेटेर
सरकार साथमा रहेको ढाडस दिनुभयो। सरकारले हराएका आफन्तको खोजी, राहत, उपचार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसपछि उहाँले गल्छी-रसुवागढी सडकखण्ड अन्तर्गतको देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गर्नुभयो। सँगै, उहाँले तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूलाई भेटेर उहाँहरूका समस्या सुन्नुभयो। बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे पनि अर्थमन्त्रीले जानकारी लिनुभयो।
उहाँहरूलाई थप स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुनर्स्थापना गर्ने बताउनुभयो। साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि भेट गरेर अर्थमन्त्री वाग्लेले स्रोतसाधनको उपलब्धताबारे जानकारी लिनुभयो। त्यसपछि अर्थमन्त्री डा.वाग्ले र सञ्चारमन्त्री डा बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गर्नुभयो। जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उहाँले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गर्नुभयो।

केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उहाँले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गर्नुभयो। त्यसपछि उहाँ दिनभरको उद्धार, राहत र पुनर्स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ हुने नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुग्नुभयो।
सो क्रममा विपद्पछिको उद्धारमा खटिनु भएका गृहमन्त्री सुदन गुरुङ,सञ्चार मन्त्री बिक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरूले गरेको ब्रिफिङ सुन्नुभयो। ब्रिफिङअनुसार अहिले जलविद्युत्को सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा छ। साथै, नेपाली सेनाको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव सङ्कलन र राहत वितरणलाई तीव्र पारेको छ।