काठमाडौँ । सरकारले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
बाढीबाट भएको क्षति तथा जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रभावित क्षेत्रको उद्धार, राहत, पुनःस्थापना तथा विपद् व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको जनाएको छ।
गृह मन्त्रालयका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१०) ले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै प्रभावित स्थानीय तहमा विपद् व्यवस्थापन तथा राहतका कामलाई थप प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ।