२०८३ भाद्र १२ शुक्रबार

बाढी प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा आकस्मिक सहायता कक्ष सञ्चालन, २ करोड सहयोग

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
114
Shares
बाढी प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा आकस्मिक सहायता कक्ष सञ्चालन, २ करोड सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित यहाँका नागरिकको उद्धार, राहत तथा सूचना सम्प्रेषणका लागि चौबिसै घण्टा सम्पर्क गर्न सकिने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक अपिल जारी गरी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तगर्त चौबिसै घण्टा सम्पर्क गर्न सकिने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको हो।

प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र (पीईओसी) को टेलिफोन नं ०९१-५२१३२४, मोबाइल नं ९७६२४७९३२८ र मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीको मोबाइल नं ९७६१२०६७१९ मा सम्पर्क गर्न आह्वान गरिएको छ।

यसैगरी, नेपाल प्रहरीको १००, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र/जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४, सशस्त्र प्रहरी बल, नेपालको १११४, हेलो सरकारको ११११ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको ९८५१३२०२६९/९८४९२८१०९७ मा समेत सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली पठाउने व्यवस्था मिलाएको जनाएको छ। प्रभावित क्षेत्रमा सम्भावित महामारी, संक्रमण तथा स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्वास्थ्य टोली परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने अपिलमा उल्लेख छ।

यसैगरी, मनसुन र वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा समेत विपद्को जोखिम बढ्न सक्ने भन्दै प्रदेश सरकारले सबै जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायलाई पूर्वतयारीसहित उच्च सतर्कतामा रहन आग्रह गरेको छ।

यसअघि, आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट २ करोड रूपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। विपद्‌बाट पीडितको सहयोगका लागि प्रदेश सरकारका मन्त्रीहरूबाट एक/एक महिनाको तलब उपलब्ध गराउनेसमेत जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij