२०८३ भाद्र ११ बिहिबार

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा पुनःसुचारु

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
133
Shares
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा पुनःसुचारु

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।

प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको हो ।

साँझसम्म थप क्षेत्रमा विद्युत् पुर्‍याउने तयारी

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । त्यस्तै, बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीबाट चार्ज गर्ने तयारी भइरहेको छ ।

आवश्यक प्राविधिक काम पूरा गरी यी लाइनसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र सम्भव भएसम्म बिहीबार साँझसम्म विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको ढकालले जानकारी दिनुभयो ।

त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ ।

बाढीबाट विद्युत् संरचनामा क्षति पुगेका कारण नियमित प्रणालीबाट आपूर्ति गर्न कठिन भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

दक्ष प्राविधिकसहित टोली परिचालन

विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन प्राधिकरणले काठमाडौँ तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ ।

परिचालित टोलीले प्रभावित विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

क्षतिग्रस्त संरचनाको मर्मत तीव्र पारिने

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न आवश्यक सबै उपाय अपनाएर काम तीव्र बनाउन निर्देशन दिनुभएको थियो ।

मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तनविक्रम राणालगायत अधिकारी सहभागी छन् ।

प्राधिकरणले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ । सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने र क्षतिग्रस्त संरचनाको मर्मत गरी नियमित सेवा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij