काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशीसहित त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
आइएफआरसीले बाढी प्रभावितका लागि १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ तत्काल सहयोग उपलब्ध गराउने जनाएको हो ।
प्रभावित क्षेत्रमा रेडक्रसको खोज तथा उद्धार
आइएफआरसीका अनुसार रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेका छन् । टोलीले प्रभावितको खोज तथा उद्धारसँगै प्रारम्भिक राहत वितरणको कामसमेत अघि बढाइरहेको छ ।
आइएफआरसीले विपद् प्रतिकार्यका लागि स्वयंसेवक तथा सम्बन्धित निकायलाई निरन्तर सक्रिय रहन आग्रह गरेको छ ।
आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीबाट प्रभावितलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन तथा विपद् प्रतिकार्यलाई थप सुदृढ बनाउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।
उहाँले नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार प्रभावित समुदायका लागि थप सहयोग परिचालन गर्न आइएफआरसी तयार रहेको बताउनुभएको छ ।
थप सहयोग परिचालन गर्ने प्रतिबद्धता
महासचिव चापागाईंले सामाजिक सञ्जालमार्फत नेपाल रेडक्रसका स्वयंसेवकहरू प्रभावित समुदायमा सक्रिय रूपमा खटिएको उल्लेख गर्नुभएको छ । उनीहरूले प्रारम्भिक राहत तथा मानवीय सहायता उपलब्ध गराउने कार्य गरिरहेको उहाँले बताउनुभएको छ ।
बाढीमा परी ठूलो जनधनको क्षति भएको, धेरै मानिस बेपत्ता भएको तथा भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति महासचिव चापागाईंले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
आइएफआरसीले नेपाल रेडक्रस र सम्बन्धित राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकता पहिचान गर्दै प्रभावित समुदायलाई निरन्तर मानवीय सहायता उपलब्ध गराउने जनाएको छ ।