पोखरा । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार समिट एयरले आज पोखरा–जोमसोम रुटमा तीन पटक उडान गरेको हो।
वर्षायाममा कम ‘भिजिबिलिटी’का कारण हरेक वर्ष पोखरा–जोमसोम हवाई सेवा प्रभावित हुँदै आएको छ। मौसममा सुधार भएसँगै उडान पुनः सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक तथा यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।
पर्यटक आगमनको मुख्य याम सुरु हुन लागेकाले नियमित हवाई सेवा सञ्चालनले मुस्ताङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।