२०८३ भाद्र ७ आइतबार

म्याग्दीमा गत आवमा चार किलोमिटर पदमार्ग निर्माण, विश्रामस्थललगायत पर्यटकीय पूर्वाधार तयार

ई आर्थिक    आइतबार, भाद्र ७ २०८३
665
Shares
म्याग्दीमा गत आवमा चार किलोमिटर पदमार्ग निर्माण, विश्रामस्थललगायत पर्यटकीय पूर्वाधार तयार

म्याग्दी । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ।

गतवर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि १ करोड ४० लाख बजेट विनियोजन भएकामा १ करोड १० लाख रूपैयाँ बजेटका १९ वटा योजना सम्पन्न भएका हुन्।

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिए। ‘सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्’, उनले भने, ‘प्रतिकूल भूगोल, मौसम र अन्य कारणले ३० लाख रूपैयाँ बजेटका पाँच वटा योजना कार्यान्वयन भएनन्।’

पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ।

मालिका गाउँपालिका-७ बिमको डाँडागाउँमा ५२० मिटर पक्की पदमार्ग र धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवन निर्माण भएको छ। मालिका-४ मा गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाँडागाउँ जोड्ने पदमार्ग निर्माण भएको छ।

बेनी नगरपालिका-९ मा ढाडापधेरा आरोटा, पाखाथर, ८ को बराहपाखोमा पदमार्ग र १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार निर्माण भएको छ। मंगला गाउँपालिका-४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका-४ को खिवाङ-चेचुङ पदमार्ग निर्माण भएको छ।

रघुगंगा गाउँपालिका-३ गलेश्वर देखि बगैचा, ५ र ६ को फुलडाडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम-सुवा-दुवारी-मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ।

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गण्डकी प्रदेश सरकारबाट २४ वटा योजनाका लागि १ करोड ८५ लाख रूपैयाँ बजेट प्राप्त भएको छ। बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रिया थालिएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij