सान फ्रान्सिस्को । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था ‘टेस्लाराटी’का अनुसार उक्त कार्यक्रम कम्पनीको मुख्यालय रहेको अस्टिनमा आयोजना हुनेछ ।
संस्थाले कार्यक्रमको निमन्त्रणा प्राप्त भएको दाबी गरेको छ । यद्यपि, टेस्लाले कार्यक्रमको मिति आधिकारिक रूपमा पुष्टि गरेको छैन । साइबरक्याब विशेष रूपमा स्वायत्त सञ्चालनका लागि डिजाइन गरिएको सवारी साधन हो । यसमा स्टेयरिङ ह्वील र पेडल राखिएको छैन र पूर्ण रूपमा स्वचालित सञ्चालनका लागि टेस्लाको ‘सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा निर्भर रहनेछ ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसअघि साइबरक्याब निजी ग्राहकलाई प्रतिएकाइ ३० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री गर्ने योजना रहेको बताउनुभएको थियो । सन् २०२४ को अक्टोबरमा पहिलो पटक सार्वजनिक गरिएको साइबरक्याब टेस्लाको रोबोट्याक्सी सम्बन्धी योजनाको प्रमुख हिस्सा हो । कम्पनीले यसलाई ‘मोडल वाई’ सवारीसँगै स्वायत्त यात्रु सेवामा प्रयोग गर्ने योजना बनाएको छ ।
मोडल वाईका केही सवारी एक वर्षभन्दा बढी समयदेखि वास्तविक सडकमा स्वायत्त यात्रु सेवा परीक्षणमा प्रयोग हुँदै आएका छन् । प्रविधि प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार टेस्लाले व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्नुअघि साइबरक्याबमार्फत आफ्ना कर्मचारीलाई सार्वजनिक सडकमा सेवा उपलब्ध गराउने योजना बनाएको छ । रोबोट्याक्सी सेवा टेस्लाको भविष्यको राजस्व तथा कृत्रिम बुद्धिमत्ता (एआई) रणनीतिको महत्त्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ ।