काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका १५ सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार गर्न तथा कर्मचारीलाई समय, पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ।
केन्द्रले भदौ ५ गते काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न कार्यालयमा गरेको अनुगमनमा केही कर्मचारी तोकिएको समयमा उपस्थित नभएको र कतिपयले निर्धारित पोसाक नलगाएको पाइएको जनाएको छ।
अनुगमनपछि कार्यालयहरूलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिइएको छ। केही कार्यालयलाई प्रचलित कानूनअनुसार आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउनसमेत भनिएको छ।
मनोहरा जग्गा एकीकरण आयोजनालाई नागरिक बडापत्र अनिवार्य रूपमा राख्न तथा बैठक सञ्चालन गर्न, काठमाडौं दुग्ध वितरण आयोजनालाई ई–हाजिरी जडान गर्न र अन्य कार्यालयलाई पनि आवश्यक सुधार गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ।
सरकारी कार्यालयमा कर्मचारीको अनुशासन, सेवा प्रवाह वा आचरणसम्बन्धी समस्या देखिएमा केन्द्रको हटलाइन ०१४२००३४५ मा जानकारी गराउन सकिने केन्द्रले जनाएको छ।