२०८३ भाद्र ६ शनिबार

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुन बनाउन सरकार सकारात्मक : अर्थमन्त्री

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०८३
988
Shares
गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुन बनाउन सरकार सकारात्मक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाँजाको उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र राजस्व संकलनसँग मात्रै जोडेर हेर्न नहुने भन्दै उनले यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताए।

उनले विज्ञहरूको अध्ययन तथा निष्कर्षका आधारमा आवश्यक कानुन निर्माण गरी गाँजा खेतीलाई व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने स्पष्ट पारे।

मन्त्री वाग्लेले नेपालमा गाँजाको व्यावसायिक तथा औषधिजन्य उपयोगबारे सार्वजनिक बहस भइरहेको र विगतका बजेटमा समेत यसको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको उल्लेख गरे। विगतमा विकसित मुलुकहरूको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाइएको भए पनि अहिले ती मुलुकहरू नै क्रमशः खुलापनतर्फ गइरहेको उनको भनाइ थियो।

गाँजा खेतीसम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले थप अध्ययन तथा कानुनी निर्क्यौलका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने उनले बताए।

औद्योगिक प्रवर्द्धन र सरकारी राजस्व वृद्धि गर्ने दृष्टिकोणबाट गाँजा खेतीको सम्भावनालाई अर्थ मन्त्रालयले प्राथमिकताका साथ हेर्ने उल्लेख गर्दै मन्त्री वाग्लेले यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पुर्‍याउन आफूले पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij