काठमाडौं । देशभर यस वर्ष करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ १.९२ प्रतिशतले बढी भएको हो।
विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। नेपालमा करिब १३ लाख ७० हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको विभागले जनाएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यस्तै, कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्क छ।
विशेषगरी मधेस प्रदेशलगायत केही क्षेत्रमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ केही ढिला भएको विभागले जनाएको छ। यद्यपि पछिल्लो समय वर्षा बढेसँगै रोपाइँको अवस्था सुधार भएको बताइएको छ।
विभागका अनुसार अधिकांश स्थानमा किसानहरू धान रोपाइँका लागि आकाशे पानीमै निर्भर रहनुपर्ने अवस्था रहे पनि यस वर्षको मनसुन तुलनात्मक रूपमा सुखद रहेकाले रोपाइँको अवस्था गत वर्षभन्दा राम्रो देखिएको छ।
समयमै पर्याप्त वर्षा भएको र रोपाइँको क्षेत्रफलसमेत बढेकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको विभागले जनाएको छ।