धनुषा । नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाका अनुसार साबिक मिथलेश्वर महुवाही गाविसका वडा नं. १ देखि ९ सम्म पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लामो समयसम्म लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्न सकेको थिएन।
आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै हाल ३१० थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।
लालपुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३१० परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्।
वर्षौंदेखि जग्गाको स्वामित्व प्रमाणित हुने प्रतीक्षामा रहेका स्थानीयका लागि लालपुर्जा प्राप्त हुनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ। यसले उनीहरूलाई जग्गासम्बन्धी कानुनी अधिकार सुनिश्चित गर्नुका साथै आगामी दिनमा जग्गाको कारोबार तथा अन्य कानुनी प्रक्रियासमेत सहज हुने अपेक्षा गरिएको छ।