नेपालगन्ज । बुद्ध एयरले बन्द रहेको नेपालगन्ज–पोखरा नियमित हवाई उडान भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत जेठ ५ गतेदेखि विभिन्न कारणले स्थगित गरिएको उडान करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आउन लागेको हो।
बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहका अनुसार आगामी सेप्टेम्बर १६ अर्थात् भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन हुनेछ। भारतको उत्तर प्रदेशलाई समेत पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्न थालेपछि सेवा पुनः सुरु गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
शाहका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नुका साथै इन्धन खर्च बढेकाले गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। सुरुमा एक महिनाका लागि उडान रोक्ने सूचना जारी गरिए पनि यात्रु माग तथा अन्य कारणले सेवा लामो समयसम्म बन्द रहेको थियो।
पुनः सञ्चालन हुने उडान आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन हुनेछ। बुद्ध एयरले उडानको बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
पर्यटन व्यवसायी उत्साहित
नेपालगन्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज हुँदै पश्चिम नेपाल र भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताए।
उनका अनुसार उडान सञ्चालन भएपछि पोखरा तथा आसपासका पर्यटकलाई नेपालगन्जको बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ। त्यस्तै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ भ्रमणमा जान पनि सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय पर्यटन व्यवसायीको लामो पहलपछि पर्यटन प्रवर्द्धन तथा भारतीय यात्रुलाई सहज हवाई पहुँच उपलब्ध गराउने उद्देश्यले २०७८ साउन १७ गतेदेखि नेपालगन्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालन हुँदै आएको थियो।
नेपालगन्जलाई पोखरासँग जोड्ने यो हवाई सेवाले पश्चिम नेपाल र भारतको उत्तर प्रदेशका पर्यटकलाई समेत दुई प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यबीच आवतजावतमा सहजता प्रदान गर्दै आएको छ।