२०८३ भाद्र १ सोमबार

सांसद गेलालको प्रश्न– ‘देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी?’

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
209
Shares
सांसद गेलालको प्रश्न– ‘देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई जिल्ला–जिल्ला पुगेर प्रचारप्रसार गर्नुभन्दा मन्त्रालयमै बसेर जनताका समस्या समाधान गर्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गेलालले मन्त्रीहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै देश भ्रमणलाई प्राथमिकता दिनुभन्दा नीति निर्माण, निर्णय प्रक्रिया र सेवा प्रवाह सुधारमा केन्द्रित हुन आग्रह गरे ।

‘तपाईंहरूलाई देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी ?’ भन्दै उनले मन्त्रीहरूलाई प्रश्न गरे । बिदामा घुम्न गएजस्तो जिल्लाजिल्ला पुग्नुको सट्टा मन्त्रालयमा बसेर नीति बनाउन, आवश्यक निर्णय लिन र कर्मचारीको मनोबल बढाउनुपर्ने उनको भनाइ थियो ।

गेलालले १६५ वटै निर्वाचन क्षेत्रका समस्या पहिचान र समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले सरकारलाई उपलब्ध गराउन सक्ने बताए । त्यसका लागि ठूलो संख्यामा सल्लाहकार नियुक्त गरेर राज्यको ढुकुटीमाथि थप भार पार्न आवश्यक नरहेको उनले बताए ।

उनले आम नागरिक अहिले ग्यास, मल, सञ्चार सेवा, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाजस्ता आवश्यकताका लागि संघर्ष गरिरहेको उल्लेख गरे । तर, जनताको अवस्थाअनुसार सरकारको प्राथमिकता र मन्त्रीहरूको व्यवहार नदेखिएको उनको आरोप थियो ।

‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ, तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन,’ उनले भने, ‘अस्पतालमा डाक्टर हुँदैनन् ।’

मन्त्रीहरू जिल्ला पुगेर भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्दैमा जनताको समस्या समाधान नहुने पनि गेलालले बताए । सरकारको उपस्थिति मन्त्री घरघर पुगेर देखाउने नभई राज्यका कारण समस्या समाधान भएको प्रत्यक्ष अनुभूति जनताले गर्ने अवस्थामा हुनुपर्ने उनको भनाइ थियो ।

‘मन्त्रीज्यूहरू, तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन्,’ उनले भने, ‘जनताको घरघरमा मन्त्री पुग्ने होइन, सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ ।’

अन्त्यमा उनले मन्त्रीहरूलाई स्पष्ट सुझाव दिँदै भने, ‘देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij