२०८३ भाद्र १ सोमबार

अर्घाखाँचीमा बाख्रामा पीपीआर पुष्टि, प्रभावित चार क्षेत्रमा सिल

ई आर्थिक    शुक्रबार, साउन २९ २०८३
874
Shares
अर्घाखाँचीमा बाख्रामा पीपीआर पुष्टि,  प्रभावित चार क्षेत्रमा सिल

अर्घाखाँची । अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर (पेस्ट डेस पेटिट्स रुमिनेन्ट्स) पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले भूमिकास्थान नगरपालिका–४ का बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई रोग प्रभावित क्षेत्रका रूपमा सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए।

अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। आदेश उल्लंघन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी तथा स्थानीय तहको समन्वयमा रोक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

२ बाख्रा मरे, १९ वटा बाख्रामा संक्रमण पुष्टि

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार पीपीआरका कारण हालसम्म दुईवटा बाख्रा मरेका छन् भने करिब १७ देखि १९ वटा बाख्रामा संक्रमण पुष्टि भएको छ।

भूमिकास्थान–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोटअन्तर्गत दया ठाँटी/उदयठाँटी तथा वडा नं. ६ को नुवाकोटस्थित उप्रिकोट बस्तीका किसानले पालेका केही बाख्रामा पीपीआर संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ।

रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि प्रशासनले प्रभावित क्षेत्रबाट बाख्रा ओसारपसारमा रोक लगाएको हो। साथै संक्रमित पशुलाई स्वस्थ पशुबाट अलग राखेर उपचार तथा उचित व्यवस्थापन गर्न किसानलाई आग्रह गरिएको छ।

बाख्रा तथा भेडालाई खोप लगाउन आग्रह

प्रशासनले किसानले पालेका सबै बाख्रा तथा भेडालाई पीपीआरविरुद्धको खोप अनिवार्य रूपमा लगाउन आग्रह गरेको छ। रोग प्रभावित क्षेत्र आसपासका अन्य स्थान तथा पालिकामा समेत खोप अभियानलाई प्राथमिकता दिन भनिएको छ।

संक्रमित बाख्रामा रोगका लक्षण देखिए तत्काल छुट्टै स्थानमा राखी उपचार गर्न र आवश्यक परे सम्बन्धित स्थानीय तह तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

त्यसैगरी संक्रमित बाख्राको मासु बिक्री–वितरण नगर्न र नगराउन स्पष्ट निर्देशन दिइएको छ।

पीपीआरको संक्रमण रोकथामका लागि खोपलाई प्रभावकारी उपाय मानिन्छ। प्रशासनले किसानलाई गोठमा रहेका बाख्रा तथा भेडाको स्वास्थ्य अवस्था नियमित निगरानी गर्न, बिरामी पशुलाई स्वस्थ पशुबाट अलग राख्न र अस्वाभाविक लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij