२०८३ साउन २९ शुक्रबार

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन गर्न विशेष संयन्त्र गठन, छ सिँचाइ आयोजनालाई विशेष अनुगमन गरिदै

ई आर्थिक    बुधबार, साउन २७ २०८३
1K
Shares
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन गर्न विशेष संयन्त्र गठन, छ सिँचाइ आयोजनालाई विशेष अनुगमन गरिदै

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र निर्माण गरेको छ।

लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयावधि नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले यस्तो संयन्त्र बनाएको हो।

विशेष संयन्त्रमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समयतालिका, प्रमुख समस्या र समाधानका लागि चालिएका कदमबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागले नियमित अनुगमन तथा समन्वय गर्नेछ।

विभागका अनुसार आयोजनामा देखिएका समस्याको पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानका लागि समयसीमा निर्धारण गर्ने र त्यसको नियमित फलोअप गर्ने प्रणालीसमेत विकास गरिनेछ।

यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति समीक्षा तथा आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखसँग बैठक आह्वान गरेका छन्।

प्रारम्भिक चरणमा विभागअन्तर्गतका महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना लाई प्राथमिकतामा राखेर अनुगमन गरिने भएको छ।

विभागले उक्त संयन्त्रलाई आयोजनाको प्रगति विवरण संकलन गर्ने माध्यममा मात्र सीमित नराखी समस्या पहिचान, तत्काल कार्य, जिम्मेवारी निर्धारण र परिणामको फलोअप गर्ने नतिजामुखी प्रणालीका रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

आयोजनाअन्तर्गतका मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागको अनुगमन प्रणालीमा प्रत्यक्ष समेटी नियमित समीक्षा गर्ने तयारीसमेत गरिएको छ।

विभागले यस्तो प्रणालीबाट लामो समयदेखि अघि बढिरहेका राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्न थप जवाफदेहिता सिर्जना हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij