काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ।
हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको छ। प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिनेछ।
नयाँ प्रणाली लागू भएपछि सेवाग्राहीले सम्बन्धित कार्यालयमै अनलाइन गुनासो दर्ता गर्न सक्नेछन्। सम्बन्धित निकायमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था हुनेछ। गुनासोको प्रगति अनुगमनदेखि समाधानको जानकारीसम्म एउटै प्लेटफर्मबाट उपलब्ध गराइने तयारी छ।
यस्तै, सरकारी कल सेन्टरलाई पनि अन्तरआबद्ध गर्ने योजना अघि सारिएको छ। निःशुल्क नम्बर ११११ मा आएको गुनासो विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइनेछ। सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा कल पुनः हेलो सरकारमै फर्किने व्यवस्था गरिने प्रस्ताव छ।
प्रस्तावित दिग्दर्शनअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था गरिनेछ। साथै, गुनासो समाधान भएपछि सेवाग्राहीबाट पृष्ठपोषण प्राप्त गरेपछि मात्रै गुनासो फर्छ्योट हुने प्रणाली विकास गरिनेछ।
यसैबीच, हेलो सरकारमा नागरिकका गुनासो उल्लेख्य रूपमा बढेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको १६ हजार ५६८ को तुलनामा ३२१ प्रतिशत बढी हो।
पछिल्ला पाँच आर्थिक वर्षमा हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएकामध्ये गत आर्थिक वर्षको हिस्सा मात्रै करिब ५६ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
त्यस्तै, पछिल्ला करिब तीन महिनामा मात्रै ५० हजार ७२१ गुनासा दर्ता भएकामध्ये ३९ हजार १७७ गुनासोको सम्बोधन गरिएको छ। चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म ९ हजार ६१० गुनासा प्राप्त भएकामा ६ हजार ६०१ गुनासो फर्छ्योट भइसकेको कार्यालयले जनाएको छ।
उपसचिव सापकोटाले गुनासोको सङ्ख्या बढ्नु सरकारप्रति नागरिकको विश्वास र अपेक्षा बढेको संकेत भएको बताउँदै, नयाँ प्रणाली कार्यान्वयनमा आएपछि हेलो सरकार गुनासो दर्ता गर्ने माध्यममा मात्र सीमित नरही सुशासन प्रवर्द्धन र नीति निर्माणमा समेत सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।