२०८३ साउन १७ आइतबार

गोठाटार पहेँलो पुलमा लागेको आगलागीमा १४ सटरमा क्षति, करोडौंको नोक्सानीको अनुमान

ई आर्थिक    आइतबार, साउन १७ २०८३
152
Shares
गोठाटार पहेँलो पुलमा लागेको आगलागीमा १४ सटरमा क्षति, करोडौंको नोक्सानीको अनुमान

काठमाडौं ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित गोठाटार पहेँलो पुल नजिक हिजो (शनिबार) बेलुका भएको भीषण आगलागीबाट १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।

आगलागीबाट करोडौं रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ भने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम तथा सटरहरूमा शनिबार राति करिब ९ः१५ बजे आगलागी भएको हो।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने देखिएको छ। केही स्थानीयले भने काठको फर्निचर पसलबाट आगो सल्किएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी उद्धार तथा आगो नियन्त्रणमा खटिएका थिए। आगो नियन्त्रणका लागि करिब १७५ जना प्रहरी, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर तथा स्थानीयवासी परिचालन गरिएको थियो। संयुक्त प्रयासपछि राति करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट १४ वटा विभिन्न व्यवसाय सञ्चालन भइरहेका सटरमा ठूलो क्षति पुगेको छ। व्यवसायीहरूको काठ, फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यद्यपि, कुल आर्थिक क्षतिको विस्तृत मूल्याङ्कन अझै हुन बाँकी छ।

प्रहरीले घटनाको कारण र क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij