काठमाडौं : नेपाल आयल निगमले आजदेखि पुनः साविकअनुसार १४.२ किलोग्राम एलपी ग्यास भरिएका सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ अवस्थामा सुधार आएपछि पूर्ण परिमाणको ग्यास भराइ पुनः सुरु गर्न निर्देशन जारी गरिएको हो।
निगमले १४.२ किलोग्राम ग्यास भरिएको प्रतिसिलिण्डरको खुद्रा मूल्य २,०६० रुपैयाँ नै कायम रहेको जनाएको छ।
यसअघि ग्यास आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम (आधा तौल) ग्यास भरिएका सिलिण्डर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको थियो। आपूर्ति अवस्था सामान्य बन्दै गएपछि उक्त अस्थायी व्यवस्था आजदेखि हटाइएको निगमले जनाएको छ।