रसुवा । नेपाल र चीनबीचको प्रमुख व्यापारिक प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी मूल्यका सामान नेपाल भित्रिएका छन्।
रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म रसुवागढी नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु आयात भएका छन्।
यस अवधिमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, जलविद्युत् आयोजनाका उपकरण तथा विद्युतीय सवारीसाधनलगायतका सामग्री मुख्य रूपमा आयात भएका छन्।
प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक मार्गका रूपमा परिचित रसुवागढी नाका लिच्छवी तथा मल्लकालदेखि व्यापारिक गतिविधिको केन्द्र रहँदै आएको छ। व्यापारीहरूले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्दै आएका थिए। आधुनिक सडक सञ्जालको विस्तारसँगै यो नाका अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भएको छ।
भन्सार कार्यालयका अनुसार सोही अवधिमा नेपालबाट करिब ९० करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। आयात–निर्यात गतिविधिबाट चालु आर्थिक वर्षमा हालसम्म १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको निमित्त प्रमुख विकले जानकारी दिए।
यसैबीच, पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियासम्बन्धी उठेका प्रश्नबारे उनले प्रचलित भन्सार ऐन तथा नियमावलीअनुसार पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा रहेको बताए। तोकिएको कानुनी प्रक्रिया अनुसार नै राजस्व संकलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको उनको भनाइ छ।
रसुवागढी नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।