२०८३ भाद्र ३० मंगलबार

बोरा अभावले उदयपुर सिमेन्ट उद्योग संकटमा, साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्कियो

ई आर्थिक    सोमबार, जेष्ठ २५ २०८३
3.2K
Shares
बोरा अभावले उदयपुर सिमेन्ट उद्योग संकटमा, साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्कियो

काठमाडौं ।  राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग गम्भीर आर्थिक संकटमा फसेको छ। प्याकिङका लागि आवश्यक बोरा खरिद गर्न नसक्दा उत्पादन भइसकेको करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्किएको छ।

देशकै पुराना सरकारी उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग आर्थिक अभाव, व्यवस्थापकीय कमजोरी तथा श्रमिक समस्याका कारण सञ्चालन संकटमा परेको हो। उद्योगका अनुसार हाल परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ। त्यसमध्ये करिब ५० हजार बोरा तयारी अवस्थामा गोदाममा थन्किएको छ भने थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात रहेको जनाइएको छ।

प्याकिङ बोरा अभावका कारण उत्पादन भएको सिमेन्ट बजारमा पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन् जटिल बन्दै गएको छ। उद्योग प्रशासनले आवश्यक बोरा खरिद गर्नसमेत रकम अभाव रहेको जनाएको छ।

उद्योग प्रशासन प्रमुख गम्भिरजङ खत्रीका अनुसार प्रतिवोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा गोदाममा थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ पुग्छ। उनका अनुसार उद्योग प्राविधिक कारणले नभई आर्थिक संकटका कारण बन्द अवस्थातर्फ धकेलिएको हो।

यता उत्पादन विभागले पटक–पटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि प्रशासनबाट प्रभावकारी पहल नभएको गुनासो गरेको छ। समयमै प्याकिङ र व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएको झण्डै ५ हजार बोरा बराबरको सिमेन्ट पूर्ण रूपमा नष्ट भएको उद्योगले जनाएको छ।

उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आन्दोलनसमेत थालेका छन्। लामो समयदेखि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापनमा समस्या भएको उनीहरूको भनाइ छ।

आर्थिक संकट, मर्मत सम्भारको अभाव, श्रमिक आन्दोलन तथा कमजोर व्यवस्थापनका कारण उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेपछि यसको भविष्यप्रति स्थानीयवासी र सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij