२०८३ असोज २ शुक्रबार

१५ वर्षदेखि अलपत्र कमला पुलको मन्त्री लम्सालद्वारा निरीक्षण, स्थानीयको विरोध

ई आर्थिक    आइतबार, जेष्ठ २४ २०८३
2.2K
Shares
१५ वर्षदेखि अलपत्र कमला पुलको मन्त्री लम्सालद्वारा निरीक्षण, स्थानीयको विरोध

सिरहा । सिरहा धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल निर्माण कार्य १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील लम्सालले शनिबार स्थलगत निरीक्षण गरेका छन्।

पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमनका क्रममा मन्त्री लम्साल नेतृत्वको टोली कमला पुल पुगेको हो। विगत १५ वर्षमा मन्त्री लम्सालसहित १८ जना मन्त्रीले पुलको निरीक्षण गरिसकेका छन्। तर पटक–पटकको निरीक्षण र प्रतिबद्धताका बाबजुद पुल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।

मन्त्रीको निरीक्षणका क्रममा स्थानीय बासिन्दाले विरोध जनाएका छन्। पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरी केवल निरीक्षणमा सीमित भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन्। लामो समयदेखि पुल निर्माण नहुँदा आवतजावतमा कठिनाइ भोग्नुपरेको स्थानीयको गुनासो छ।

निरीक्षणपछि मन्त्री लम्सालले कमला पुलको निर्माण कार्य अब कुनै पनि बहानामा नरोकिने बताएका छन्। उनले आयोजनालाई शीघ्र सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण तथा प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाए।

भ्रमणका क्रममा मन्त्री लम्सालले कमला पुलसँगै काँकडभिट्टा–लौकही सडक आयोजनाका तीन खण्ड तथा सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिबारे समेत जानकारी लिएका छन्।

त्यसैगरी, एशियाली विकास बैंक (ADB) र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाहरूको पनि अनुगमन गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्री लम्सालले बुटवल, मुलिङ र नागढुंगा सडकखण्डको समेत निरीक्षण गर्दै निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij