काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जना नेताहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्। बिहीबार महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा उनीहरूले पार्टी परित्याग गरेका हुन्।
राजीनामा दिने नेताहरूमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, र नारायण प्रसाद कोइराला लगायत रहेका छन्।
उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिने नेताहरूले अध्यक्ष लिङ्देनको हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टीले आफ्ना मूल नीति र उद्देश्यबाट विचलित भएको आरोप लगाएका छन्।
नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको, निर्णय प्रक्रिया एकतर्फी बन्दै गएको तथा संगठनात्मक संरचना प्रभावहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यस घटनालाई राप्रपाभित्रको ठूलो राजनीतिक संकटका रूपमा हेरिएको छ, जसले पार्टीको संगठनात्मक स्थायित्व र आगामी राजनीतिक दिशामाथि प्रश्न उठाएको छ।


