काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा १ सय ७५ रुपैयाँले बढी हो। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढिरहेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ५ सय अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाइएको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय आर्थिक गतिविधि, डलर विनिमय दर तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।