काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा सांसद डीपी अर्याल निर्विरोध भएका छन् । सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो ।
प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी परेको छ। निर्धारित समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने सुनिश्चितजस्तै भए पनि औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।
सङ्घीय संसद् सचिवालयले सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो। सो अवधिमा अर्यालले मात्र उम्मेदवारी दर्ता गराएका हुन्। उनले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी पेश गरेका थिए।
अर्यालको उम्मेदवारीमा रास्वपा सभापति रवि लामिछाने प्रस्तावक रहेका छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका छन्।
सचिवालयका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली शुक्रबार अपराह्न २:३० बजे सार्वजनिक गरिनेछ। संसद् महासचिव पद्मप्रसाद पाण्डेयले आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयन प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। उक्त बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।
अर्यालको एकल उम्मेदवारीसँगै सभामुख चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ भने प्रतिनिधिसभाले नयाँ सभामुख पाउने तयारी अन्तिम चरणमा पुगेको छ।
