भक्तपुर। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा संयुक्तका उम्मेदवार लोककृष्ण दाहाल (एलके दाहाल)ले उम्मेदवारी परित्याग गरेका छन्। उम्मेदवारी फिर्ता लिँदै उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
बुधबार सूर्यविनायक नगरपालिका–२ मा आयोजित कार्यक्रममा एमाले उम्मेदवार बस्नेतले नेता रामकुमारी झाक्री, जिल्ला अध्यक्ष बचन देउजा तथा कार्यकर्ताको उपस्थितिमा दाहाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।
एमाले निर्वाचन कमिटीका अनुसार दाहाल अहिले बस्नेतको पक्षमा घरदैलो अभियानमा सक्रिय रूपमा सहभागी भएका छन्।
कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष बचन देउजाले उम्मेदवार नै एमाले प्रवेश गर्नुले पार्टीप्रति जनलहर देखिएको दाबी गरे। उनले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले एमालेप्रति आकर्षण बढेको बताए।
यसै क्रममा दाहालले देशको वर्तमान विषम परिस्थितिमा राष्ट्रियताको पक्षमा दृढ रूपमा उभिएको पार्टी एमाले भएकाले आफू प्रवेश गरेको स्पष्ट पारे। उनले देश विकास, सुशासन, सामाजिक सञ्जालको खुलापन तथा भ्रष्टाचार अन्त्यका पक्षमा आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
दाहालको उम्मेदवारी फिर्ता र एमाले प्रवेशसँगै भक्तपुर–२ को निर्वाचन समीकरणमा नयाँ तरंग आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।