ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनसम्म उच्च विन्दु छोएको सुनको मूल्य आज मंगलबार घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो दिन सोमबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज भने ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार सात सय रुपैयाँ कम हो।
सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ। त्यसअघि आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज चाँदी तीन हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य तीन हजार आठ सय ७० रुपैयाँ थियो।
यसअघि गएको शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च स्तर हो।