२०८३ असोज १ बिहिबार

सुनको भाउले आकाश छोएपछि संस्कार र स्वभावमा परिवर्तन आइरहेको हो ?

ई आर्थिक    मंगलबार, मंसिर ९ २०८२
2.6K
Shares
सुनको भाउले आकाश छोएपछि संस्कार र स्वभावमा परिवर्तन आइरहेको हो ?

काठमाडौं । “अचेल बजारमा मानिसहरू कम तौलमै बन्ने परम्परागत नेपाली गहनामा धेरै आकर्षित हुन थालेका छन्। या त पुराना गहनालाई नै पुन:प्रयोग गर्छन् या एकदमै कम परिमाणमा किन्छन्,” नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले भने।

“विदेशी डिजाइनका गहनामा धेरै सुन लाग्ने हुनाले बरु नेपाली परम्परागत तिलहरी, नौगेडी, चुरा, टाउकोमा लगाउने चन्द्रमा जस्ता गहनामा आकर्षण धेरै छ किनभने तिनलाई थोरै तौलमा पनि बनाउन सकिन्छ।”

किन्नेभन्दा बेच्न खोज्ने मानिस धेरै आइरहेको उनले बताए।

विवाहमा गहनाका रूपमा प्रयोग हुने सुन जन्मदेखि मृत्युसम्मका अनेक संस्कारमा पनि आवश्यक पर्ने गर्छ।

भाउ बढ्दा स्वभावदेखि संस्कारमा पनि यसले प्रभाव पारिरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले बताए।

“सुन तोलाकै अढाइ लाख पर्ने भएपछि मानिसहरूले जसोतसो मात्रा घटाएर हुन्छ कि के गरेर हुन्छ धान्न त परिराखेको छ। धेरै किन्नेले थोरैमा चित्त बुझाउनु परेको छ। विवाहमै पनि सामान्य तिलहरीमा भर पर्नु परिरहेको हुन सक्छ। धेरै आफन्तलाई बाँड्नु पर्ने ठाउँमा थोरैलाई बाँडिने हुन सक्छ,” ढुङ्गेलले भने।

“विवाहमा गहनाका रूपमा प्रयोग गरिने हुनाले शास्त्रअनुसार त्यो नभइ नहुने भन्ने चाहिँ हुँदैन।”

तर खासगरी हिन्दू संस्कारमा पवित्रता तथा शुद्धताका कारण सुनको धेरै महत्त्व रहने गरेको उनले बताए।

“पूजाआजा गर्दा देवताको प्रतीकका रूपमा सुनको प्रतिमा भनेर प्रयोग गरिन्छ भने शास्त्रमा कुनै पनि अनिष्टको निवारण गर्नाका लागि दानको महत्त्व हुन्छ। ग्रहशान्ति गर्दा वा दोष निवारण गर्दा विभिन्न दान गरिन्छ गोदान, भूमिदान वा हिरण्य (सुन)दान भन्ने हुन्छ,” उनले भने।

बजार बिथोलियो

मंसिर लागेपछि सुन व्यवसायीहरूलाई बेग्लै रौनक हुने गर्थ्यो।

तर यसपालि सुनको भाउले एकपछि अर्को कीर्तिमान तोड्दै आम मानिसको पहुँचभन्दा झन् झन् टाढा पुगिरहेको व्यवसायीहरू बताउँछन्।

गएको असोज ३१ गते इतिहासमै हालसम्मको उच्च मूल्यमा पुगेको सुनको भाउ अझै पनि उच्चविन्दुकै हाराहारीमा कायम छ।

उक्त दिन तोलाको २,५८,००० रुपैयाँ पुगेको सुन मङ्गलवार विवाह पञ्चमीको दिन तोलाको २,४७,९०० मा रहेको छ।

“बजारमा चहलपहल नै छैन। विगतमा विवाहको सिजन हुने मंसिर, माघ, फागुनमा दिनको ४० किलो सुन माग हुने गरेकोमा अचेल २० किलो पनि (कारोबार) हुँदैन,” सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइलीले भने

अहिले ब्याङ्कहरूमार्फत् दैनिक २५ किलोसम्म सुन आयात गर्न पाइन्छ तर बजारको खपत अवस्थाका कारण त्यति आयात पनि महासङ्घसँग नसोधिकन नगर्न आफूहरूले भन्न थालेको उनले बताए।

बजार बिथोलिँदा यो क्षेत्रमा लागेका २५ हजार व्यवसायीहरू सङ्कटमा परिरहेको उनले औँल्याए। “तीबाहेक करिब २ लाख कालीगढले पनि यसमा रोजगारी पाइरहेका थिए। अन्य कर्मचारीका परिवारसहित करिब १२-१५ लाख यसमा जोडिएका छन्।”

दिल्ली र दुबइभन्दा काठमान्डूमा किन महँगो ?

आजको दिनमा काठमाण्डूमा सुन किन्दा दुबई भन्दा १० प्रतिशत अनि दिल्लीभन्दा ५ प्रतिशत बढ्ता महँगो पर्ने रसाइलीले बताए।

भारतमा सुनमा ६ प्रतिशत भन्सार लाग्छ भने नेपालमा १० प्रतिशत लाग्ने उनले बताए।

“त्यसका अतिरिक्त नेपालमा ०.५ प्रतिशत व्यवसायीले अनि ०.५ प्रतिशत ब्याङ्कले शुल्क लिने गरिन्छ।”

यो वर्षको बजेटमा सुनमा विलासिता कर भनेर थप २ प्रतिशत शुल्क लागेको छ। “यसले नेपाली ग्राहक थप मारमा परेका छन्,” रसाइलीले भने।

सम्पत्ति शुद्धीकरणजस्ता विषयसँग जोडेर व्यवसायीहरूलाई ‘ट्र्याकिङ्’ गर्ने नाममा विलासिता शुल्क लगाइएको भन्दै रसाइलीले त्यसो हो भने न्यूनतम ०.१ प्रतिशत दरमा शुल्क उठाउन सरकारलाई आफूहरूले सुझाव दिइरहेको बताए।

“यसरी हेर्दा भारतमा ६ प्रतिशत भन्सार अनि ३ प्रतिशत वस्तु तथा सेवा कर तिरेर सुनको कारोबार हुन्छ भने नेपालमा १० प्रतिशत भन्सार, १ प्रतिशत ब्याङ्क/व्यवसायी शुल्क र २ प्रतिशत विलासिता कर तिरेर कारोबार हुन्छ।”

भारतसँग खुला सिमाना रहेकाले यहाँका मानिसहरूले सहजै थोरै परिमाणमा सुन ल्याउन सक्ने उनले औँल्याए।

“मूल्य र करको फरकले गर्दा भारतमा गएर १० तोला किन्दा दशौँ हजार फाइदा हुन्छ अनि मानिसहरूले त्यसो गरे भने नेपालका व्यवसायी वा सरकारको राजस्व कसैलाई राम्रो हुँदैन,” रसाइलीले चेतावनी दिए।

“अहिले नेपालमा कारोबार खस्कनुमा यो पनि मुख्य कारण हो। तोलाको अढाई लाख परेको बेला ५ प्रतिशतमात्रै सस्तो भयो भने पनि झन्डै १३ हजार सस्तो हुन आउँछ। १० तोला किन्दा १३०,००० सस्तो हुन्छ भने मानिसहरू भारतीय बजारमा आकर्षित भइहाल्छन्।”

राष्ट्रब्याङ्कसँग छ २ खर्बको सुन

अहिले सुनको भाउमा यस्तरी वृद्धि हुनुमा खासगरी अन्तर्राष्ट्रिय कारण नै प्रमुख हुन्।

अन्तर्राष्ट्रिय जगत्मा भरपर्दो लगानीको वस्तु अहिले पनि सुन नै देखा परिरहँदा विश्वभरिका अग्रणी केन्द्रीय ब्याङ्कहरूले सयौँ टन सुन थुपारेका छन् जसका कारण त्यसको माग पनि बढेको छ।

विगतमा प्रति आउन्स सुन ३ हजार अमेरिकी डलर नै पुग्दैन होला जस्तो लागेकोमा अहिले त्यसले ४ हजारको विन्दु काटिसक्यो।

यो वर्षको असोज मसान्तमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अघिल्लो असोज मसान्तभन्दा करिब ६० प्रतिशतले बढेर ४२ सय डलर समेत नाघ्यो।

नेपाल राष्ट्र ब्याङ्कको कुरा गर्दा चाहिँ ऊसँग तीन प्रकारको सुन रहेको प्रवक्ता गुरुप्रसाद पौडेलले बीबीसीलाई बताए।

“पहिलो हामी पेपर गोल्ड पनि भन्छौँ जुन भौतिक होइन तर किनबेच तथा लगानीका लागि उपयोग हुन्छ। यो असोज मसान्तसम्म राष्ट्र ब्याङ्कसँग १५१ अर्ब रुपैयाँ बराबरको पेपर गोल्ड रहेको छ,” पौडेलले भने।

“दोस्रो रिजर्भ गोल्ड हो जुन भौतिक नै हुन्छ। यो करिब ४४ अर्ब रुपैयाँ बराबरको हामीसँग मौज्दात छ। अनि तेस्रो चाहिँ टक्सारमा हुने ट्रेडिङ गोल्ड हो जसको मूल्य अहिले २ अर्ब जति रहेको छ।”

“तीन वटै गरेर हामीसँग झन्डै २ खर्ब रुपैयाँ बराबरको सुन रहेको छ।”

राष्ट्रब्याङ्क ऐनले सुनको प्रयोगबारे पनि बोलेको भन्दै पौडेलले यसलाई नोट निष्कासनमा सुरक्षणका निम्ति, ट्रेडिङ वा बेचबिखन गर्न अनि लगानीका रूपमा पनि उपयोग गरिने गरिएको बताएको समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij