२०८३ साउन १२ मंगलबार

काभ्रेका चार गाउँपालिकामा सडक र विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध, जनजीवन प्रभावित

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
1.6K
Shares
काभ्रेका चार गाउँपालिकामा सडक र विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध, जनजीवन प्रभावित

काभ्रेपलाञ्चोक ।  लगातार तीन दिनसम्मको अबिरल वर्षापछि आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाका चार स्थानीय तहमा सडक तथा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्। पहिरोका कारण खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिकामा आवागमन ठप्प भएको छ भने कतिपय स्थानमा सञ्चार सेवा समेत बन्द भएको छ।

अति विकट महाभारत पर्वत श्रृङ्खलापारी रहेका खानीखोला र महाभारत गाउँपालिकामा सडक पूर्ण रूपमा बन्द हुँदा सम्पर्कविहीन अवस्था छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गाउँपालिका कार्यालयसहित विभिन्न वडामा पुग्ने सबै सडक पहिरोले अवरुद्ध छन्। उनले बीपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाँडाखर्क र पिप्ले–भीमखोरी सडकखण्ड पूर्ण रूपमा बन्द भएको जानकारी दिए।

“सडक र विद्युत् सेवा दुवै अवरुद्ध भएका छन्, पुनः सञ्चालन गर्न केही दिन लाग्छ,” जिम्बाले बताए।

त्यसैगरी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सोमबारदेखि सडक खुलाउन आवश्यक मेसिन प्रयोग भइसकेको बताए। उनले इन्धन आपूर्तिमा समस्या भए पनि दुई–तीन दिनभित्र विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए।

रोशी गाउँपालिकामा अस्थायी डाइभर्सन कटान गरिएपछि विभिन्न वडासँगको सडक सम्पर्क टुटेको छ। गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार चौकीडाँडा र घुमाउने क्षेत्रको सडक खुलाउन सकेपछि मात्रै गाउँपालिका केन्द्र सडक सञ्जालमा जोडिनेछ। रोशीमा विद्युत् सेवा आंशिक रूपमा मात्र सञ्चालनमा आएको छ।

बेथानचोक गाउँपालिकामा आइतबारदेखि सडक खुलाउने प्रयास थालिएको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार मुख्य सडक खुलाउने कार्यलाई प्राथमिकता दिइएको छ भने वडासँग जोडिने अन्य सडक खोल्न मेसिन परिचालन गरिएको छ।

बाढीपहिरोका कारण जिल्लामा दुई जनाको ज्यान गएको छ भने भौतिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको काभ्रेपलाञ्चोकका स्थानीय तहहरूले जनाएका छन्। प्रभावित क्षेत्रको पुनःनिर्माण र सेवा पुनःस्थापना कार्य तीव्र रूपमा अघि बढाइने जनप्रतिनिधिहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij