२०८३ साउन १२ मंगलबार

चाडपर्वमा सुरक्षा र निर्वाचनको तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

ई आर्थिक    शुक्रबार, असोज १० २०८२
4K
Shares
चाडपर्वमा सुरक्षा र निर्वाचनको तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

ई-आर्थिक, काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आउँदै गरेका चाडपर्व र आगामी आम निर्वाचनलाई लक्षित गर्दै मातहत सबै इकाइहरूलाई सुरक्षाका लागि पूर्ण तयारीमा जुट्न निर्देशन दिएका छन् ।

बडादशैँ, तिहार, नेपाल सम्वत् ११४६ र छठ पर्वको अवसरमा असोज १० गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट मातहत इकाइहरूलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले नागरिकहरूले चाडपर्वहरू सुरक्षित वातावरणमा मनाउन पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरे ।

उनले देशका विभिन्न भौगोलिक क्षेत्रमा खटिएर सेवा दिइरहेका सशस्त्र प्रहरी कर्मचारीहरूलाई शुभकामना दिँदै आपसी सद्भाव र भाइचाराको भावना अझ सुदृढ होस् भन्ने विश्वास व्यक्त  गरे ।

हालै भएको जेन्जी आन्दोलनको सन्दर्भमा महानिरीक्षक अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, यस्ता घटनाबाट पाठ सिक्दै आगामी निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउने दिशामा प्रारम्भिक तयारी सुरू गर्न पनि निर्देशन दिएका छन् ।

महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सार्वजनिक आवागमन सहज बनाउन नाकाहरूमा सहायता डेस्क स्थापना गर्न, सुरक्षाकर्मीहरूको समन्वयात्मक परिचालन र नियमित अनुगमन सुनिश्चित गर्न पनि निर्देशन दिए ।

साथै, सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता संभावित विपद्‌हरूप्रति सतर्क रहँदै उद्धार टोलीलाई तयारी अवस्थामा राख्न र विपद् व्यवस्थापनसम्बन्धी योजना अद्यावधिक गर्न स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्न समेत निर्देशन दिइएको छ।

चाडपर्वको अवसरमा सीमावर्ती क्षेत्रहरूबाट हुनसक्ने चोरी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै उहाँले सबै इकाइहरूलाई सक्रिय रहन निर्देशन दिएका हुन् ।

उनले अप्ठ्यारो परिस्थितिमा समेत उत्कृष्ट प्रदर्शन गर्न उच्च मनोबल, एकता र कार्यकुशलताको साथमा योजनाबद्ध रूपमा कार्य गर्न मातहत कमाण्डरहरूलाई विशेष आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij