ई-आर्थिक, काभ्रेपलाञ्चोक । मनसुनको जोखिमका कारण रातको समयमा सवारी आवागमनमा रोक लगाइएको बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको सक्रियता घट्दै गएकाले र आगामि दशैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राख्दै राजमार्ग पूर्ण रूपमा खोल्ने निर्णय गरेको हो। यात्रु तथा सवारी साधनको सहजताका लागि पूर्व स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुरूप राजमार्ग सञ्चालन गरिने जनाइएको छ।
राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा बाढी र पहिरोको जोखिमका कारण गत असार पहिलो सातादेखि रातको समयमा सवारी आवागमनमा रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिमपूर्ण देखिएकाले सावधानी स्वरूप रातिको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो। आगामी असोज १ गतेदेखि भने राजमार्ग पूर्ण रूपमा खोलिने निर्णय भएको उहाँले जानकारी दिनुभयो।
काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा पहिरोको जोखिम रहँदै आएको छ। काठमाडौँबाट पूर्व जाँदै गरेका सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र पश्चिम फर्किंदै गरेका सवारीलाई नेपालथोकमा रोकिने व्यवस्था गरिएको थियो।
यसअघि, काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायहरू सम्मिलित अन्तरजिल्ला समन्वय समितिको निर्णयअनुसार असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनामा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म राजमार्ग बन्द गरिएको थियो।
गत वर्षको असोजमा आएको बाढीपहिरोले राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको करिब आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालन गरिएको थियो। बाढीपहिरोबाट सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि धुलिखेलसम्म ५० किलोमिटर खण्डमा धेरै स्थानमा क्षति पुगेको थियो।
राजमार्गको स्थायी पुनर्निर्माणका लागि चारवटा खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ। पूर्वी नेपाल जोड्ने छोटो र महत्त्वपूर्ण मार्गको रूपमा रहेको बिपी राजमार्गमा दैनिक हजारौँ सवारी साधन चल्ने गर्दछन्।