ई-आर्थिक, काठमाडौं । हालै देशमा उत्पन्न विषम परिस्थितिका बीचमा भएका दुःखद घटनाप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख व्यक्त गरेको छ। बैंकले जिउधनको क्षतिले आफू अत्यन्त मर्माहत भएको जनाएको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै घटनामा दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने सान्त्वना व्यक्त गरेको छ। साथै, हाल उपचाररत सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
उक्त घटनामा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि बैंकले गहिरो दुःख प्रकट गरेको छ। यसै क्रममा बैंकले देशको असामान्य अवस्था चाँडै सामान्य हुने र सरकार गठनको प्रक्रिया निष्कर्षमा पुग्दै शान्ति, सुशासन, व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास व्यक्त गरेको छ।
विपत्तिबाट पोखरा लेकसाइडस्थित बैंकको शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। हाल उक्त शाखाबाट प्रवाह हुने सेवा नजिकैका अन्य शाखाबाट उपलब्ध गराइने बैंकले जानकारी दिएको छ।
यद्यपि लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखाहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र सभी डिजिटल बैंकिङ्ग सेवाहरू सुरक्षित रूपमा क्रियाशील रहेको बैंकले स्पष्ट पारेको छ।