२०८३ साउन १२ मंगलबार

अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्कीलाई बालेनको समर्थन, स्थायी परिवर्तनका लागि अपिल

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
3.3K
Shares
अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्कीलाई बालेनको समर्थन, स्थायी परिवर्तनका लागि अपिल

ई-आर्थिक, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको वर्तमान राजनीतिक परिस्थितिलाई ‘इतिहासमै नभएको फरक मोड’ को रूपमा चित्रण गर्दै जनतालाई धैर्य र एकताको सन्देश दिएका छन्। उनले हालै देशमा उभिएको युवा–आन्दोलनलाई समर्थन जनाउँदै अन्तरिम सरकारको अविलम्ब गठनको माग गरेका छन्।

बालेनले सामाजिक सञ्जालमार्फत सार्वजनिक एक सन्देशमा भनेका छन्, **”अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।”**

उनले जनतालाई नआत्तिन र संयमित रहन आग्रह गर्दै यो समय अन्तरिम सरकार बनाउने र नयाँ चुनावतर्फ अघि बढ्ने उपयुक्त घडी भएको उल्लेख गरे।

सुशीला कार्कीलाई समर्थन

अन्तरिम सरकारको नेतृत्वका लागि विभिन्न प्रस्तावहरूबीच उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाममा देखिएको आमसमर्थनलाई स्वागत गरेका छन्। **”तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु,”** भन्दै उनले वर्तमान पुस्ताको निर्णय क्षमताको प्रशंसा गरेका छन्।

अस्थायी होइन, स्थायी परिवर्तन आवश्यक

बालेनले सत्ता प्राप्तिका लागि हतार गरिरहेका केही नेताहरूलाई संयम अपनाउन सुझाव दिएका छन्। उनले भनेका छन्, तपाईँहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।

राष्ट्रपतिलाई विशेष आग्रह

राष्ट्रपतिलाई सम्बोधन गर्दै बालेनले जनताको आन्दोलनलाई संवैधानिक रूपमा सम्बोधन गर्न आग्रह गरे। उनले भनेका छन्,  जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोस्।

बालेन शाहको यो सन्देशले देशको युवा पुस्ता र आम नागरिकमा फैलिएको असन्तोषलाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मागलाई थप बल दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij