२०८३ साउन १२ मंगलबार

तयारी पोसाक उद्योग संघ र उद्योगमन्त्रीबीच उच्चस्तरीय छलफल, निर्यात प्रवर्द्धनमा जोड

ई आर्थिक    मंगलबार, भाद्र १० २०८२
3K
Shares
तयारी पोसाक उद्योग संघ र उद्योगमन्त्रीबीच उच्चस्तरीय छलफल, निर्यात प्रवर्द्धनमा जोड

ई-आर्थिक, काठमाडौं ।  तयारी पोसाक उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समसामयिक विषयमा उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। संघको सचिवालयमा शनिबार, भदौ ७ गते आयोजित उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी भए भने उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली विशेष अतिथि थिए।

कार्यक्रममा तयारी पोसाक उद्योग संघका सदस्यहरूसहित विभिन्न बस्तुगत संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो। छलफलको क्रममा पोशाक उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भाव्यता विषयमा गहन विचारविमर्श गरिएको संघले जनाएको छ।

मन्त्री भण्डारीले तयारी पोसाकलगायत अन्य निर्यातयोग्य वस्तुहरूको उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात विस्तारमा सरकार गम्भीर रहेको धारणा व्यक्त गरे। यस्तो उद्योगले रोजगारी सिर्जना, आर्थिक वृद्धि र विदेशी मुद्रा आम्दानीमा उल्लेखनीय योगदान गर्न सक्ने भएकाले सरकारले यसतर्फ आवश्यक नीति, योजना र सहयोगका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले स्पष्ट योजना, रणनीतिक सोच र राजनीतिक इच्छाशक्तिको माध्यमबाट उद्योग क्षेत्रलाई अघि बढाउने सरकारको तयारी रहेको भन्दै संघलाई थप उत्तरदायित्वपूर्वक काम गर्न आग्रह गरे।

संघका पदाधिकारीहरूका अनुसार यस्तो प्रकारको छलफलले नीति निर्माणमा मार्गदर्शन दिने मात्र होइन, व्यवसायीक वातावरण सुधार र निजी–सरकारी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। संघले मन्त्री र अन्य अतिथिलाई विशेष स्वागत गर्दै उद्योग क्षेत्रका साझा चासोका विषयमा निरन्तर संवाद अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij