ई-आर्थिक, अर्घाखाँची । जिल्लामा हालसम्म ३६ दशमलव ४९ प्रतिशत सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाको कुल ८ हजार ५४४ हेक्टर सिँचाइयोग्य जमिनमध्ये ३ हजार ११८ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा विस्तार गरिएको हो।
डिभिजन प्रमुख भेषराज भुसालका अनुसार जिल्लामा हाल २१ हजार २४७ हेक्टर जमिनमा खेती हुँदै आएको छ। सिँचाइ सुविधा विस्तार गर्न चालु आर्थिक वर्ष २०८१/८२ मा विभिन्न १३३ योजनामध्ये १२३ वटा सम्पन्न गरिएको जानकारी उनले वार्षिक प्रगति समीक्षा कार्यक्रममा दिए। दुई योजना कार्यान्वयनको चरणमा छन् भने आठ योजना मापदण्ड नपुगेका कारण कार्यान्वयनमा जान सकेका छैनन्।
डिभिजन कार्यालयले उक्त आवमा कुल १६ करोड ७५ लाख रुपैयाँ बजेट पाएकोमा १४ करोड ४९ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ। कार्यालयका लेखापाल शिवहरि खनालका अनुसार भौतिक प्रगति ९७ दशमलव ९९ प्रतिशत र वित्तीय प्रगति ८६ दशमलव ५३ प्रतिशत रहेको छ।
उक्त अवसरमा विभिन्न उत्कृष्ट कार्यसम्पादन गर्ने निकाय र व्यक्तिहरूलाई सम्मान गरिएको थियो। अर्घा कन्स्ट्रक्सन, लुम्बिनी निर्माण सेवा, चौवाटार जलस्रोत उपभोक्ता समिति र ३६ वर्ष सेवा गरेर अवकाश भएका कर्मचारी डम्बरबहादुर खत्रीलाई विशेष सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले असारे विकासको प्रवृत्ति अन्त्य गर्दै समयमै योजना सम्पन्न गर्ने सिँचाइ विकास डिभिजनको कार्यप्रति प्रशंसा जनाए। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विकास योजनामा प्रशासन कार्यालयको पूर्ण समन्वय रहने बताए।
समीक्षा कार्यक्रम डिभिजन कार्यालयका लेखापाल शिवहरि खनालको स्वागत मन्तव्य र सूचना अधिकारी रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, राजनीतिक दल, सरकारी निकाय, सञ्चारकर्मी, उपभोक्ता समूहलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा उल्लेखनीय उदाहरणका रूपमा सन्धिखर्क–४ र छत्रदेव–६ मा पर्ने जरेखोला बगाले ५०० फाँट सिँचाइ योजना एक वर्षको म्यादभित्र सम्पन्न गर्नुपर्नेमा लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ ले दुई महिना १८ दिनमै सम्पन्न गरेको डिभिजन प्रमुख भुसालले बताए। संस्थाका प्रोपाइटर नारायण पौडेलले समयभन्दा धेरै अगावै काम सम्पन्न गर्दै आफूलाई जिम्मेवार निर्माण व्यवसायीका रूपमा प्रमाणित गरेका हुन्।