१९ असार, काठमाडौं । ३ सय ३४ स्थानीय तहमा भइरहेको मतगणना मध्ये सोमवार विहानसम्ममा २ सय ३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने छ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नं १ को खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु छन् । यसैगरी, प्रदेश नं ५ को गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नं ७ को डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।
बाँकी स्थानीय तहको मतगणना शान्तिपूर्ण रुपमा भइरहेको छ । तीन सय ३४ स्थानीय तहका लागि असार १४ गते भएको निर्वाचनमा ४७ लाख ४० हजार ५ सय २२ मतदाता सहभागी भएका थिए ।
सो निर्वाचनमा ७३.६९३ प्रतिशत मत खसेको थियो । रासस