२०८३ साउन १२ मंगलबार

जलाधार क्षेत्रको सरक्षण गर्ने ‘एक वडा एक सार्वजनिक पोखरी’ निर्माण कार्यक्रम कार्यान्वयनमा

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
4.2K
Shares
जलाधार क्षेत्रको सरक्षण गर्ने ‘एक वडा एक सार्वजनिक पोखरी’ निर्माण कार्यक्रम कार्यान्वयनमा

ई-आर्थिक, भोजपुर । जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक पोखरी’ निर्माण कार्यक्रम कार्यान्वयनमा ल्याएकोे छ। मुहानहरु सुक्दै गएपछि सरक्षणको लागि गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाले वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वडामा पोखरी निर्माण गर्ने सोच साथ काम गरिरहेको जनाएको छ।

जलवायु परिवर्तनका कारण देखिएका समस्याहरुको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने उद्देश्यले एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यो कार्यक्रमअन्तर्गत पोखरी खन्ने काम भइरहेको उनले बताए।

‘प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन हामीले एक वडा एक पोखरी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष राईले भने, ‘पोखरी निर्माणले जमिनको रिचार्ज भएर मुहानहरुको संरक्षणमा टेवा पुग्नेछ।’

पोखरी निर्माणले पानीको मुहान रिर्चािजङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगालागीको समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ। पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिक रुपमा उम्रिएका मुहानहरुको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ। पानीको अभावमा सिंचाइको लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानहरुको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए।

‘यो कार्यक्रमअन्तर्गत बर्सेनि सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ’, प्रशासकीय अधिकृत निरौलाले भने, ‘विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ। निर्माण भएका पोखरीमा आकासे पानी संकलनको काम भईरहेको छ। यो कामले मुहानहरुसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ।’

तत्काललाई खास उपयोगी जस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ।

स्थानीयलाई तरकारीबाली तथा खेतीपाती गर्नको लागि पोखरी निर्माणले सहजता भएको हतुवागढी १ घोडेटारका वडाध्यक्ष कुमार विष्टले बताए। मानवीय क्रियाकलापसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धैरै पानीको मुहानहरु सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ।

पोखरीमा सञ्चित गरिएको पानी आगलागीको समयमा प्रयोग सकिने व्यवस्थासमेत मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij