ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्य श्वेतपत्रमा जारी गरिएको श्वेतपत्रमा फरक किसिमको तथ्यांक आएको छ । पछिल्लो समय निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेको तथ्यांक अर्कै किसिमको आएको थियो । दुईखाले तथ्यांक आएपछि यसले सबैलाई अन्यौल र अलमलमा पारेको छ । सर्वसाधारण बास्तविक तथ्यांकको समेत अपेक्षामा छन् ।
यसैबीच प्राधिकरणको वास्तविक वित्तीय अवस्था बाहिर ल्याउनका लागि ड्यू डिलिजेन्स अडिट (डीडीए)को प्रक्रिया अगाडि बढाइने भएको छ ।
नेपालमा गठन गरिने समिति, आयोग भरपर्दो नमानिएको अवस्थामा प्राधिकरणको डीडीए भरपर्दो र पारदर्शी हुन्छ कि आशंका समेत गरिएको छ । अर्बौ नाफामा चलेको भनिएको प्राधिकरण शुक्रबार श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन लागिएको जानकारी दिएका दिए । यसले सबैलाई आश्चर्य चंकित तुल्याएको छ ।
उनले भने, ‘महालेखाको प्रतिवेदनमा औंल्याईएको कैफियत र नेविप्राले तयार गरेको वासलात तथा नाफा नोक्सान विवरण आदिमा मूलभूत रूपमा फरक पर्न गएकोले यस संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने र प्रस्तुत तथ्याङ्कको विश्वसनीयता कायम गर्ने हेतुले प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि ड्यू डिलिजेन्स अडिट (डीडीए)को प्रक्रिया अगाडी बढाइनेछ ।’
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण नाफामा रहेको बताउँदै आएका थिए । तर, हालका कार्यकारी निर्देशक शाक्यले भने ड्यू डिलिजेन्स अडिट (डीडीए) पश्चात् प्राधिकरणको वास्तविक वित्तीय अवस्था बाहिर आउने दाबी गरेका छन् ।
उनले सार्वजनिक गरेको श्वेतपत्र अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । चालु आवको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।
तर, आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको उक्त श्वेतपत्रमा उल्लेख गरिएको छ ।
यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखा परीक्षण प्रतिवेदनमा औल्याईएका बुँदाहरू मध्ये संस्थाले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिएको उनले जानकारी दिए ।
यसले गर्दा समग्रमा आव २०८०.८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको शाक्यको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै हालसम्म देशभर ९७.५ पालिकामा विद्युत पहुँच पुगेको बताएका छन् ।
उनका अनुसार वडाका हिसाबले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घर–संरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
माग र आपूर्तिको असन्तुलन वर्षा यामको विद्युत खेर गएको छ भने सुख्खायाममा विद्युतको माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए ।
उनले भने– ‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार ०८२/८३ मा वर्षा याममा २६४८ मेगावाट , ०८३/८४ मा ३३१६ मेगावाट विद्युत जगेडा रहनेछ । यो निर्यात हुनुपर्ने देखिएको छ । तर त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३/८४ मा ७२८ मेगावट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’
शाक्यले आगामी दिनमा विद्युत आयात शुन्य नहुने बताए । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनले बताए ।
शाक्यका अनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्प–जलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्छ । यससँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्छ ।