९ माघ, काठमाडौं । सहकारीको छाता निकाय राष्ट्रिय सहकारी संघले सहकारी कर्जा सूचना केन्द्र सञ्चालनको प्रस्ताव गरेको छ । संघको सञ्चालक समितिबाट केन्द्र सञ्चालन गर्ने निर्णय गरी सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
वित्तीय कारोबार गर्ने सहकारी संस्थाले ऋण लगानीमा सूचना आदान–प्रदान गर्नका लागि मन्त्रिपरिषद्ले २०७२ असोजमा ‘सहकारी ऋण लगानी सूचना एकाइ निर्देशिका’ पारित गरेको थियो । निर्देशिकामा सहकारी मन्त्रालयअन्तर्गत सहकारी ऋण लगानी सूचना एकाइ गठन गर्ने र त्यसअन्तर्गत रहने गरी क्रेडिट इन्फरमेसन सेन्टरलाई कर्जा सूचना व्यवस्थापन र आदान–प्रदानको काम गर्न दिने उल्लेख गरिएको छ ।
सूचना केन्द्र सञ्चालन गर्न ‘क्रेडिट इन्फरमेसन सेन्टर’ ले मन्त्रालयमा प्रस्ताव गरे पनि सहकारीको छाता संगठन राष्ट्रिय सहकारी संघले निजी कम्पनीले सहकारीको कर्जा सूचना केन्द्र सञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन । राष्ट्रिय संघले सहकारीको कर्जा सूचनाको काम निजी कम्पनीलाई दिएमा आफूहरूले सहयोग नगर्ने चेतावनीसमेत दिएको छ ।
राष्ट्रिय संघबाहेक बचत तथा ऋण सहकारीहरूको छाता संस्था नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन), राष्ट्रिय सहकारी बैंकले पनि केन्द्र सञ्चालन गर्ने आशय देखाउँदै आएका छन् । मन्त्रालयका सहसचिव सुरेश प्रधानले मन्त्रिपरिषद्ले कर्जा सूचना केन्द्र र निक्षेप सुरक्षण कोषको निर्देशिका र कार्यविधि पनि पास गरे पनि केन्द्र सञ्चालन गर्न कसलाई दिने भन्ने प्रक्रिया अघि बढ्न नसकेको बताए ।
“कार्यविधिमा प्रतिस्पर्धाका आधारमा उपयुक्त संस्था वा कम्पनीलाई दिने उल्लेख छ । प्रतिस्पर्धामा कम्पनी छनोटको काम भने अघि बढ्न सकेको छैन ।” उनले भने, “राष्ट्रिय संघ आफैंले बचत र कर्जा सुरक्षण कोष र कर्जा सूचना केन्द्रको काम गर्छु भनेको छ । उहाँहरूको संस्थागत क्षमता हेरे मात्र उपयुक्त निर्णयमा पुग्छौं ।”
अहिले मन्त्रालयको प्राथमिकतामा सहकारी ऐन परेकाले सूचना केन्द्रको काममा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाका लागि भने कर्जा सूचना केन्द्र लिमिटेडले कर्जा सूचना सेवा दिँदै आएको छ । केन्द्रले कर्जा लिने ग्राहकको सूचना दिनुका साथै ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राख्ने गर्दै आएको छ ।
तर, सूचना केन्द्र नहुँदा सहकारीमा ऋण लिएर कालो सूचीमा परेको व्यक्तिले अर्को सहकारीबाट ऋण लिएर ठगी गर्ने भएकाले सहकारीमा जोखिम बढिरहेको छ ।