२०८३ साउन १२ मंगलबार

युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

ई आर्थिक    बुधबार, साउन १६ २०८१
6.4K
Shares
युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति-कम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता-सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो ।

दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

हेल्लोटिभी नेपाल फेसबुक पेज, पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो । “प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वलाई बढवा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुस्ट्याइँबेगर अप्राकृतिकरुपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जन गरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।”

यसैबिच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानल छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताउनुभयो । “डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन । केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्री सच्याउन, सम्पादन गर्न निर्देशन र आवश्यक कारबाही थालेका हौँ”, उहाँले भन्नुभयो । उहाँले युट्युब च्यानललाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेको जानकारी दिनुभयो । सञ्जाललाई दुरुपयोग नभई सदुपयोग गरी सञ्चार क्षेत्रको प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij