२०८३ असोज ७ बुधबार

दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुपर्ने, ‘दी नबिल ढुक्क घर कर्जा योजना’ सार्वजानिक

ई आर्थिक    आइतबार, असार ३० २०८१
2.3K
Shares
दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुपर्ने, ‘दी नबिल ढुक्क घर कर्जा योजना’ सार्वजानिक

ई–आर्थिक, काठमाडौं । दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नबिल बैङ्कको ४० औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित ‘दिगो विकासमा बैङ्कको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले बैङ्कले आगामी दिनमा थप लगानी बढाउँदै जानुपर्ने बताएका हुन् ।

बैङ्कका अध्यक्ष उपेन्द्र पौडेलले बैङ्कले दिगो विकासमा लगानी गरिरहेकाले आगामी दिनमा थप लगानी बढाउँदै जाने बताउनुभयो । सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जाने बताउँदै उहाँले यसका लागि सहकार्य गर्न बैङ्क तयार रहेको बताउनुभयो ।

सरकार र निजी क्षेत्र सबै मिलेर दिगो विकासको लक्ष्य हासिल गर्न लाग्नुपर्ने उहाँको भनाइ छ । बैङ्कले सोलारमा लगानी गरिसकेकाले वैकल्पिक ऊर्जामा समेत आगामी दिनमा लगानी बढाउँदै जाने उहाँको भनाइ छ । सिमसार संरक्षण, निकुञ्ज संरक्षण, पानीको स्रोत संरक्षण गरेर वित्तीय क्षेत्र समुदाय तहमा पुग्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले दिगो बैङ्किङ योजनामार्फत कार्बन उत्र्सन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक–आर्थिक विकास प्रवर्धन गर्न परियोजना अगाडि बढाउने बताउनुभयो ।

नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले ४० वर्षमा नबिल बैङ्क डिजिटल रूपमा समेत सबै नेपालीको बैङ्क बन्न सफल भएको बताउनुभयो । ज्ञवालीले बैङ्कले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभई दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा नेपाल विद्युुत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो सात वर्षमा बिजुलीको पहुँच ९९ प्रतिशत पुगेकाले यसले दिगो विकासमा ठुलो सहयोग पुर्‍याउने बताउनुभयो । दिगो विकास र वातावरणीय मैत्री हिसाबले विद्युतीय गाडीको प्रयोग बढाउँदै जानुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय बिजुलीको आयात घट्दै र निर्यात बढाउँदै गए व्यापार घाटा कम गर्न सकिने उहाँको भनाइ छ । उहाँले इन्धनको आयातलाई कम गर्न सकिने धारणा राख्नुभयो ।

सो अवसरमा विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि घनश्याम गुरुङले दिगो विकासका लागि लगानी गर्न बैङ्कको ठुलो अवसर रहेको बताउनुभयो । बैङ्कको पूर्वाधार क्षेत्रका साथै जलविद्युत् र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । हिमालय क्षेत्रका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) महानिर्देशक डा. पेम्बा ग्याम्चोले दिगो विकासको लक्ष्य हासिल गर्न वित्तीय क्षेत्रले लगानी बढाउँदै जानुपर्ने बताउनुभयो ।

‘दी नबिल ढुक्क घर कर्जा योजना’

बैङ्कले ४० वर्ष पूरा गरेको अवसरमा ­‘दी नबिल ढुक्क घर कर्जा योजना’ ल्याएको छ । यस योजनामा सात बर्से अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० बर्से अवधिको कर्जाको ब्याजदरमा ९.४ प्रतिशत निर्धारण गरिएको छ । यो योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने छ ।

बैङ्कले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको छ । शुक्रबारदेखि जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट, लकर चार्ज, एन बैङ्क तथा एनबैङ्क एपको शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

साना तथा मझौला उद्यममा एक करोड रुपियाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा उपलब्ध गराइने छ । कृषि तथा उत्पादनमूलक उद्योगमा पाँच करोड रुपियाँसम्मको कर्जा आधार दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराइने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij