१४ जेठ, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको बाधक नेपाली कांग्रेस भएको आरोप लगाएका छन्।
प्रेस चौतारी कास्कीले आइतबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले राजनीतिक सममतिका लागि अरु दल तयार भएको अवस्थामा कांग्रेसले मधेसीलाई उक्साएर सहमतिमा भाँजो हालेको आरोप लगाएका हुन्।
आफूले राजनीतिक गतिरोधको निकासका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्दा कांग्रेस झस्किएको बताए। उनले सहमतीय सरकारमा आफ्नो पार्टीले प्रधानमन्त्री नखोजेको बताए।
सरकारलाई हात्ती र राजपालाई माउतेको संज्ञा दिँदै ओलीले भने, ‘हेर्दा हात्ती ठूलो हुन्छ तर, माउतेले हात्तीलाई नियन्त्रणमा राखेर काम गराउँछ । वर्तमान सरकार (हात्ती) र राजपा (माउते) जस्तै हो, यो राजपाबाटै नियन्त्रित र निर्देशित सरकार हो।’
ओलीले कांग्रेस–माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई देखाएर निर्वाचन टार्ने प्रपन्च गरिरहेको आरोपसमेत लगाए।
सरकार र सरकारबादी दलहरुले जेठ ३१ गतेको निर्वाचन सार्ने र टार्ने काम गरिरहेको भन्दै उनले भने,‘राजपालाई भन्न लगाउने अनि कांग्रेस–माओवादीले गर्ने काम भइरहेको छ । सरकार र सरकारवादी दलहरुले सकेसम्म जेठ ३१ गतेको निर्वाचन नगर्ने र नगराउनेतिर लागिरहेको छ ।’
पहिलो चरणको निर्वाचनमा एमालेले अधिकांश ठाउँमा निर्वाचन जितेपछि कांग्रेस माओदीले एमालेलाई हराउने षड्यन्त्र गरी स्थानीय तहको संख्या थप्ने काम गरेको आरोप पनि लगाए।