काठमाडौं । वैदेशिक रोजगार ठगीमा संलग्न भएको आरोप लागेका ४७ जना व्यक्ति बैंक खाता रोक्का हुने भएपछि वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छन्।
विभागले ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेपछि उनीहरू सम्पर्कमा आएका हुन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार सम्पर्कमा आएका ४७ जनाले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन्।
विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई उपस्थित हुन गत कात्तिक १९ गते ३५ दिनको समयसीमा तोकेर पत्राचार गरेको थियो। उक्त अवधिभित्र विभागमा उपस्थित नभए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गरिने चेतावनीसमेत दिइएको थियो।
तोकिएको समयसीमाभित्र उपस्थित नभएका आरोपितहरूको बैंक खाता रोक्का गर्न विभागले प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। यसका लागि ३५ दिनको अवधि पूरा भएपछि नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको विभागले जनाएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीका आधारमा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।
बैंक खाता रोक्का गर्ने चेतावनीपछि आरोपितहरू सम्पर्कमा आउन थालेको घटनाले वैदेशिक रोजगार ठगीका पीडितलाई न्याय दिलाउने प्रक्रियामा विभागले वित्तीय कारोबार नियन्त्रणको उपायसमेत अघि बढाएको देखिएको छ।