काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई उचित वैकल्पिक व्यवस्था नगरी आश्रयस्थल खाली गराउन दिइएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
घिसिङले काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुमवासी परिवारलाई जाडोको मौसममा पुनः विस्थापित गर्नु उचित नहुने बताएका छन्।
उनले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्नेमा जोड दिएका छन्।
भूमिहीन तथा सुकुमवासी समस्याको समाधान विस्थापन मात्र नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको उल्लेख गर्दै घिसिङले वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गरेका छन्।
त्यस्तै, प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्दै दीर्घकालीन र न्यायपूर्ण समाधान खोज्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
“नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो,” घिसिङले भनेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले सुकुमवासी परिवारको आवास र पुनर्स्थापनाको विषयलाई मानवीय संवेदनशीलताका साथ सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्।