काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर रहेको थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो।
त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ९.८ प्रतिशतले बढेर ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ।
१९.९ महिनाको वस्तु आयात धान्न पर्याप्त
विदेशी विनिमय सञ्चितिले नेपालको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमतासमेत बढाएको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।
असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ६३ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यस्तो अनुपात ५९.१ प्रतिशत थियो।
त्यस्तै, कुल आयातसँगको अनुपात १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.८ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यी अनुपात क्रमशः १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए।