काठमाडौं । तोकिएको मूल्यभन्दा बढी रकम लिएर खाना पकाउने एलपीजी ग्यास सिलिन्डर बिक्री गर्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्दा तोकिएको भन्दा बढी मूल्य लिएको भन्दै ‘हेलो सरकार’को वेब पोर्टलमार्फत उजुरी दर्ता गराएका थिए । उपभोक्ताले टिकट नम्बर HS-WEB-188… मार्फत गरेको उक्त गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको अनुगमन टोली सम्बन्धित स्टोरमा पुगेको थियो ।
अनुगमनका क्रममा स्टोरले उपभोक्ताबाट बढी मूल्य असुल गरेको पाइएको भन्दै विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हेलो सरकारले जनाएको छ ।
हेलो सरकारले उपभोक्ताको गुनासोलाई विश्वास गरी उजुरी पठाउने सेवाग्राही तथा तत्काल अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवाद दिएको छ ।
सरकारले उपभोक्ता ठगी, सार्वजनिक सेवा प्रवाहमा समस्या तथा अन्य गुनासो भए निःशुल्क टेलिफोन सेवा ११११ वा हेलो सरकारको अनलाइन पोर्टलमार्फत उजुरी दर्ता गराउन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।