काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ अर्ब रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा गणना गर्दा अघिल्लो वर्ष १ अर्ब ६९ करोड डलर बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८२ करोड डलर बचतमा पुगेको छ।
यसैगरी, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ८८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १ अर्ब ९८ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ५५ करोड रुपैयाँ थियो।
त्यस्तै, तीन महिनामा ४ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको थियो।
तथ्यांकअनुसार चालु खाता र शोधनान्तर बचत दुवैमा सुधार देखिएको छ भने प्रत्यक्ष वैदेशिक लगानीको इक्विटी आप्रवाहसमेत अघिल्लो वर्षको तुलनामा बढेको छ।