काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेको थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको थियो। यसले नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको देखाउँछ।