२०८३ मंसिर ६ शनिबार

सुख्खायामको विद्युत माग धान्न भारतबाट १५० मेगावाट बिजुली किन्ने तयारीमा प्राधिकरण

ई आर्थिक    शुक्रबार, मंसिर ५ २०८३
380
Shares
सुख्खायामको विद्युत माग धान्न भारतबाट १५० मेगावाट बिजुली किन्ने तयारीमा प्राधिकरण

काठमाडौं । आगामी सुख्खायाममा विद्युत आपूर्तिमा समस्या हुन नदिन नेपाल विद्युत प्राधिकरणले भारतबाट थप १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले सन् २०२७ को जनवरीदेखि मे महिनासम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो।

प्राधिकरणले भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूबाट प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्ने योजना बनाएको छ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत चौबिसै घण्टा उपलब्ध हुने गरी राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्न लागिएको हो।

पछिल्ला केही वर्षदेखि सुख्खायाममा नदीको बहाव घट्दा आन्तरिक विद्युत उत्पादनले माग धान्न नसकेपछि नेपालले भारतबाट विद्युत आयात गर्दै आएको छ। यसअघि भारतीय ऊर्जा एक्सचेन्जको डे अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) मार्फत विद्युत खरिद हुँदै आएको थियो।

यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले विद्युत आयोजनाहरूमा थप क्षति पुर्‍याएपछि आगामी सुख्खायामको आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको छ।

प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते गरेको निर्णयअनुसार आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत खरिद गर्न सकिने निष्कर्षसमेत निकालेको थियो। विशेषगरी अप्रिल र मे महिनामा विद्युतको माग बढ्ने भएकाले त्यसबेलाको माग र आपूर्तिको अवस्था हेरेर थप खरिदको निर्णय लिने तयारी छ।

आगामी सुख्खायामसम्म राष्ट्रिय विद्युत प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अनुमान गरिएको छ। तर, नदीमा पानीको बहाव घट्ने भएकाले ती आयोजनाबाट समेत सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने प्रक्षेपण छ। यसले आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गर्न कठिन हुने देखिएको छ।

यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत खरिदका लागि भारतका तीन कम्पनीसँग दररेट माग गरेको थियो। प्राप्त प्रस्तावमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ भारतीय रुपैयाँ प्रस्ताव गरेका थिए।

सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो। त्यसपछि विद्युत खरिद सम्झौताका लागि असोज २९ गते बोलाइएकोमा कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसकिने जानकारी गराएको थियो।
कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्य वृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत मागलाई कारण देखाउँदै पुरानो दरमा विद्युत उपलब्ध गराउन नसकिने जनाएको थियो।

यसैबीच, भारतीय विद्युत बजारको डे अहेड मार्केटमा असोज २०८३ को औसत बजार समायोजन मूल्य प्रतियुनिट ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको छ। नेपाली मुद्रामा यो करिब ११ रुपैयाँ ७४ पैसा हो। बजार मूल्यसमेत बढेकाले यसअघि प्रस्ताव गरिएको दरमा विद्युत खरिद सम्झौता हुन नसकेको अवस्था थप जटिल बनेको छ।

पुरानो प्रस्तावअनुसार सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत विद्युत खरिद गर्ने विकल्प अघि सारेको हो। नयाँ प्रक्रियाबाट विभिन्न भारतीय कम्पनीको प्रस्ताव प्राप्त गरी तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्यमा विद्युत खरिद गर्ने प्राधिकरणको लक्ष्य छ।

सुख्खायाममा आन्तरिक उत्पादन घट्ने, विद्युतको माग बढ्ने र बाढीबाट क्षतिग्रस्त आयोजनाको उत्पादन तत्काल पूर्ण क्षमतामा फर्कन कठिन हुने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले समयमै आयातको व्यवस्था मिलाउन खोजेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij